2076-07-06
2076-07-06
डडेल्धुरा जिल्लाको संक्षिप्त परिचयः
नेपालको सुदुर पश्चिम प्रदेश अन्तरगत पर्ने डडेल्धुरा जिल्ला एउटा सुन्दर जिल्ला हो । यस प्रदेशका ९ वटा जिल्ला मध्ये डोटी, अछाम, बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्लामा जाने बाटो यहि डडेल्धुरा जिल्ला हुदै जान्छ । सुदुरपश्चिम प्रदेशको Hill Station को रुपमा रहेको तथा माथी उल्लेखित ६ वटै जिल्लाको प्रबेश बिन्दुको रुपमा रहेको डडेल्धुरा जिल्लाको महत्व सुदुरपश्चिम प्रदेशमै बिशेष रहेको छ । साविक महाकाली तथा सेती अञ्चलका बिभिन्न जिल्लाका मानिसहरु आवात जावत गर्ने केन्द्रको रुपमा रहेकोले यस जिल्लामा शान्ति सुरक्षा, अपराधिक गतिबिधि तथा सवारी दुर्घटनाको दृष्टिकोणले अलि बढि संबेदनशील हुदै गएको छ । डडेल्धुरा जिल्ला नेपाल भरमै बढी राष्ट्रिय, अन्तरराष्ट्रिय गैरसरकारी संस्था कार्यरत भएको जिल्ला मध्येको रुपमा लिइन्छ । ५ वटा गांउपालिका र २ वटा नगरपालिका रहेको यस जिल्लाको कूल जनसंख्या मध्ये झण्डै आधा जनसंख्या जिल्लाको दक्षिणी भेगमा पर्ने भित्री मधेसका आलिताल गांउपालिका र परशुराम न.पा. ले ओगटेको छ । भित्री मधेसमा पर्ने यी स्थानिय तहमा अधिकांस मानिसहरु अन्य जिल्लाबाट बसाइ सराइ गरी आएका बासिन्दाहरु बसोबास गर्दछन । त्यसैले यी बिबिध बस्तुगत तथ्यको आधारमा शान्ति सुरक्षाको दृष्टिकोणले यो जिल्ला दिन प्रतिदिन संबेदनशील बन्दै गएको छ । अमरगढी नगरपालिका बार्ड नं. ५ खलंगामा सदरमुकाम रहेको यो जिल्ला अत्यन्त मनोरम, भौगोलिक विविधतायुक्त, समथर भित्रि मधेस, चुरे श्रृङखला, महाभारत पर्वत, घना हरियाली वनजंगल, उग्रतारा, घटाल आदि धार्मिक महत्वका शक्ति पिठहरु, आलिताल लगायत अन्य ताल तलैयाहरु, नदिनालाहरु, शिखर लेक जस्ता प्राकृतिक स्थलहरुको सौन्दर्यताले यो जिल्ला भरिपूर्ण छ साथै यस जिल्लाको सदरमुकाममा अमरगढी किल्ला र अमरसिंह थापाको सालिकले झनै आकर्षण तुल्याएको छ । यस जिल्लाको पूर्वमा डोटी, पश्चिममा भारतको उत्तराखण्डको पिथौरागढ जिल्ला, उत्तरमा वैतडी, दक्षिणमा कैलाली र कञ्चनपुर जिल्ला रहेका छन् । यस जिल्लाको करिव ७५ प्रतिशत भू–भाग वनजंगलले ढाकेको छ । यस जिल्लाको संक्षिप्त परिचय निम्नानुसार रहेको छ ।
भौगोलिक अवस्थाः
१५३८ बर्ग कि.मी क्षेत्रफल रहेको यस डडेल्धुरा जिल्लाको पूर्वमा डोटी, पश्चिममा भारतको पिथौरागढ जिल्ला र महाकाली नदी, उत्तरमा वैतडी, दक्षिणमा कैलाली र कन्चनपुर जिल्लासंग सिमाना जोडिएको छ । यो जिल्ला ८०’ १२’’ पूर्व देखि ८०’ ४७”पूर्व देशान्तरसम्म र २८’ ५९”उत्तर देखि २९’ २६’’ उत्तर आक्षांससम्म फैलिएको छ भने ४६२ मीटरको उचाई देखि २६३९ मीटर उचाईसम्म भएको भित्रि मधेश चुरे पहाड देखि महाभारतको लेक, घनघस्या, तुषरानी जस्ता नामचलेका लेक यस जिल्लामा रहेका छन ।
प्राकृतिक स्वरुपः
यस जिल्लाको दक्षिणि भु–भाग आलिताल गांउपालिका र परशुराम नगरपालिका क्षेत्रमा उष्ण र बाँकी पहाडी भु–भागमा समशितोष्ण हावापानी पाईन्छ । सदरमुकाममा गर्मी याममा ३२ डिग्री सेल्सीयस सम्म र जाडोयाममा सुन्य ० डिग्री सेल्सीयस सम्म तापक्रम रहन्छ भने वर्षा याममा १३४३. मि.मि. सम्म वर्षा हुने गर्दछ ।
प्राकृतिक हिसावले यस जिल्लाको क्षेत्रफललाई निम्मानुसार विभाजन गर्न सकिन्छ ः
१) प्राकृतिक सम्पदाः
(क) प्रमुख नदिनालाहरुः
यहाको प्रमुख नदिनालाहरुमा महाकाली र सेती हुन । तर यी नदीहरु जिल्लाको आर्थिक बिकासको दृष्टिकोणले त्यति उपयोगी मानिदैनन् । अन्य सहायक खोलाहरुमा रंगुन, रडुवा, पन्तुरा, रुपाली गाड, घटाल, सुर्नायाँ, रुवाखोला, सकायल, तिलाडीगाड, दोगाड, आरा, सिर्ष, कलेना, लोपा, सिराड, सादनी, ठूलिगाड, डोटीगाड आदि मूख्य पर्दछन ।
(ख) वन जंगलः
कूल भु–भागको लगभग ७५ प्रतिशत वनजंगलले ढाकीएको यस जिल्लाको दक्षिणी भेगमा उष्ण सदाबहार सल्ला, साल, सिसम जस्ता वृक्षहरु भरीभराउ भई हरियाली तथा प्राकृतिक दृष्टिकोणले सुसम्पन्न वनजंगल छन भने उच्च पहाडी भेगमा समशितोष्ण कोणधारी वनजंगलले सजिसजाउ छन । यस जिल्लामा रहेको वनको क्षेत्रफल निम्नानुसार रहेको छ ।
(ग) बन्य जन्तुः
यस जिल्लामा पाईने प्रमूख बन्य जन्तुहरुमा बाघ, चितुवा, भालु, घोरल, थार, जरायो, दुम्सी, रतुवा, बादर, स्याल, लंगुर, बदेल आदि हुन् ।
(घ) झरना र तालः
यस जिल्लाको विशेष उल्लेखनिय ताल तथा झरनाहरुमा आलिताल गांउपालिकामा रहेको ३०० मिटर लम्वाई ८० मीटर चौडाई २० मीटर गहिराई भएको आलिताल र बोडापाथी पर्दछन । भागेश्वर गांउपालिका अन्तरगत साहिलको झरना, आलिताल गांउपालिकाकै कुमोडगाड झरना आदि उल्लेखनीय छन ।
सामाजिक अवस्था
यस जिल्लामा विभिन्न जनजाति सम्प्रदायका मानिसहरुले बसोबास गरेको भएतापनि धार्मिक विषयलाई लिएर कुनै पनि सम्प्रदाय विच विवाद उठेको घटना भने कहिँ कतैबाट पाइदैन । यस जिल्लामा हिन्दू्हरुको बाहुल्यता भएतापनि हिन्दूबाहेक अन्य विभिन्न जाति तथा धर्मका मानिसहरुले समेत बासोबास गर्दै आएका छन । जुन यस प्रकार छन ः
(क) हिन्दू ९९.७२ प्रतिशत
(ख) बौद ०.१५ प्रतिशत
(ग) मुस्लीम ०.२ प्रतिशत
(घ) जैन ०.२ प्रतिशत
(ङ) क्रिष्चीएन ०.७ प्रतिशत
(च) अन्य ०.२ प्रतिशत
(क) बसाई सराईः
कम भू–स्वामित्व तथा रोजगारीको अवसरको कमिले गर्दा जिल्लाको पहाडी भागबाट अन्यत्र बसाइ सराइ गर्ने र अन्य विकट जिल्लाहरुबाट यस जिल्लाको भित्रि मधेशमा बसाइ सराइ गर्ने क्रम तिव्र रहेको तथ्याङ्कबाट देखिन्छ । विगत ५ वर्षको तथ्याङ्कले ८.९ प्रतिशत अन्यत्र र जिल्ला भित्र ४.३ प्रतिशत बसाइ सराइ गरेको पाईन्छ ।
महत्वपूर्ण धार्मिक स्थलहरु
(क) घटाल थान
(ख) पर्शुराम मन्दिर
(ग) उग्रतारा मन्दिर
(घ) भागेश्वर मन्दिर
(ङ) डागेश्वरी मन्दिर
(च) समैजि मन्दिर
(छ) असीग्राम मन्दिर
(ज) गन्यापधुरा
(झ) सहश्रलिङ्ग
ऐतिहासिक स्थलः
अजयमेरु गाउपालिका अन्तरगत पर्ने अजयमेरुकोट तथा अमरगढी नगरपालिका स्थित अमरगढी किल्ला यस जिल्लाको प्रमूख ऐतिहासिक स्थलको रुपमा प्रसिद्ध छन ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा .